नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूले १५ दिनभित्र बक्यौता नतिरे पुनः आफ्नो प्रक्रियामा लाग्ने चेतावनी दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै घिसिङले यस्तो बताएका हुन् । ‘१५ दिनभित्र नतिरे हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौँ । सरकारले नै १५ दिनमा उठाउन भनेको छ । यो सरकार, ऊर्जा मन्त्रालय सबैको एकमुष्ट दायित्वमा आएको छ,’ घिसिङले भने ।
त्यतिबेला सम्म पनि बक्यौता नउठे सरकार र ऊर्जा मन्त्रालयले जिम्मेवारीपूर्वक उठाउनेतिर अघि बढ्ने विश्वास लिएको उनको भनाइ छ ।
‘१५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम नबुझाए हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं । अब नेपाल सरकारले पनि भनिसकेको अवस्था छ–१५ दिनभित्र बक्यौता रकम असुल उपर गर्नु । यो नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय सबैको एकमुष्ठ दायित्वभित्र आएको छ । १५ दिनभित्र बक्यौता रकम उठेन भने नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय बक्यौता रकम उठाउनेतिर अगाडि बढ्छ भन्ने मलाई पूर्णरुपमा विश्वास छ,’ उनले भने ।
योभन्दा अगाडि प्राधिकरणले २८ किस्ता सुविधा दिएर एक किस्तामात्रै जम्मा गर्दा पनि लाइन जोड्दै आएको पनि उनले स्मरण गराए । १४ वटा उद्योगमा सुरुको १ किस्ता बुझाएको आधारमा नै लाइन जोडिएको उनले बताए । हाल बक्यौताको कुनै पनि किस्ता नबुझाउनेमा २८ वटा उद्योग रहेको उनले बताए ।
उनले अब पनि उद्योगी व्यवसायीहरुले सरकारको निर्देशन बेवास्ता गरेर बक्यौता नबुझाएमा यो विषय प्राधिकरणको मात्रै नरहने बताए । उनले अब पनि बक्यौता नउठेमा यस विषय आम नागरिकको विषय बन्नुपर्ने र आम नागरिकले यसमा जिज्ञासा राख्नुपर्ने बताए ।