ए डिभिजन लिग २ महिना सर्यो, पुरस्कार राशी बढाइयो

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग आगामी कात्तिक २९ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । डिभिजन खेल्ने क्लबसँगको छलफलपछि सहमतिमा प्रतियोगिता सुरु हुने मिति निर्धारण गरिएको एन्फाले जनाएको छ । यसअघि ए डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिएको थियो ।

प्रस्तावित दक्षिण एशियाली फुटबल च्याम्पियनसीप (साफ) च्याम्पियनसिप अक्टोबरको पहिलो साता आयोजना हुने भएकाले त्यसलाई ध्यानमा राख्दै लिग सारिएको एन्फाले जनाएको छ । एन्फा र सहभागी १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले लिगको पुरस्कार राशीमा पनि वृद्धि गरेको छ । डिभिजन विजेता टोलीले अब ७५ लाख पुरस्कार पाउनेछ । यसअघि विजेता टोलिले ५० लाख पाएको थियो ।

उपविजेता हुने टोलिलाई पचास लाख र तेस्रो हुने टोलिलाई २५ लाख प्रदान गरिनेछ । डिभिजन लिगमा सहभागी हुने हरेक टोलिले तयारीका लागि २० लाख पाउनेछन् । पूछारमा रहने दुई टोलि रेलिगेशनमा परेर डिभिजन बीमा घटुवा हुनेछन् ।

लिग सिंगल राउन्डमा सञ्चालन हुनेछ । यसअघि डिभिजन खेल्ने क्लब सुपर आठ हुँदै अन्तिम ६ मा पर्ने टोली च्याम्पियनशीपका लागि स्पर्धा गर्ने गरी तालिका परिमार्जन गर्न सहमत भएका थिए । तर कोभिड १९ को प्रकोपले एन्फाले उक्त परिमार्जन लागू नगरी सिंगल राउन्डमै प्रतियोगिता सञ्चालन गराउन क्लबलाई सहमत गराएको हो ।

लिगका लागि खेलाडीहरुको दर्ता प्रक्रिया सुरु भइसकेको पनि एन्फाले जनाएको छ । एन्फाको तर्फबाट बैठकमा महासचिव इन्द्रमान तुलाधर, सहायक महासचिव अरुणमान जोशी, लिग समितिका संयोजक विज्ञानराज शर्मा, लिग निर्देशक सञ्जिब मिश्रलगायतको उपस्थिति थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार