कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुधबार दिउँसो पक्राउ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
सिआइबीले उनलाई मंगलबार चार घन्टा सोधपुछ गरेका थिए । बुधबार फेरि सिआइबीमा हाजिर हुन आउन भने पनि सम्पर्कबिहीन भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्राइम टाइम टेलिभिजनमा अर्यालले अन्तर्वार्ता दिँदै आफू निर्मलाको हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताएका थिए । नवराजले आफू खानेपानी विभागको सवारी चालक रहेको र कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको प्रत्यक्ष देखेको बताएका थिए ।
प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।
तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । उनीमाथि सीआईबीले मंगलबार नै सोधपुछ गरेको ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । तर, घटनाको विवरण नै उनले गलत बताउने गरेका छन् । अर्यालको भनाइ सान्दर्भिक नदेखिएको पनि प्रहरीको भनाइ छ ।
कार्यक्रम प्रस्तोता ऋषि धमला पनि सीआईबी कार्यालयमा उपस्थित भएका छन् ।
निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो ।
निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रत्यक्षदर्शी बताउने व्यक्तिसँग सिआइबीले गर्यो सोधपुछ