नेपालमा धेरै कमाउने चलचित्र बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’ 

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ग्रसकलेक्सनमा सबै नेपाली चलचित्रको रेकर्ड ब्रेक गरेको छ ।

घरेलु बक्सअफिसमा इतिहास बनाउँदै यो चलचित्र सबैभन्दा धेरै कमाउने चलचित्र बनेको हो । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ ।

‘कबड्डी ४’ को कमाइलाई उछिन्दै विजय बराल स्टारर फिल्मले धेरै कमाउने घरेलु फिल्मको रुपमा इतिहास रचेको हो । निर्माताले दिएको आधारमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ ।

टिकट बिक्रीको ट्रेन्ड हेर्दा ‘पूर्णबहादुरको सारङ्गी’को गति तत्काल रोकिने छाँटकाँट छैन । झण्डै ६ दशक लामो घरेलु फिल्मको इतिहासमा फिल्मको यो कमाइलाई अभूतपूर्व रुपमा लिइएको छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाखमा बनेको चलचित्र हो । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका ४५० भन्दा धेरै शो यो फिल्मको कब्जामा छ । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।

फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष नै यो सिनेमाको मुख्य कथा हो ।

सम्बन्धित समाचार