रवि लामिछानेसँग दुई दिनमा १५ घण्टा बयान, आज बिहानैदेखि बयान लिइँदै

सहकारीको रकम ठगीको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा करिब दश घण्टा बयान लिइएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगीको आरोपमा रुपन्देही प्रहरीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रूपन्देही ल्याएर बयान लिएको हो ।

सभापति लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी अधिकारीहरुको उपस्थितीमा मंगलबार पाँच घण्टा र बुधबार करिब दश घण्टा गरी करिब १५ घण्टा बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले जनाएको छ ।

बुधबार बयान लिँदै गर्दा रातपरेपछि बिहीबार बिहानसम्मका लागि बयान स्थगित गरिएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।

बयानलाई अन्तिम रुप दिन र प्रश्नको नम्बरिङ कार्य बाँकी रहेकोले आज बिहीबार बिहानै देखि पुनः लामिछानेसँग बयान लिइने उनले बताए । लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार