नेकपा एमालेले आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंग्याएको छ ।
एमालेले गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शाही कात्तिक २७ गते मात्रै एमाले फर्किएका हुन् । उनी यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा थिए ।
एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिने शर्तमा एमालेले पार्टीमा भित्र्याएको हो । शाही २०७४ सालमा महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
शाही २०७९ को निर्वाचनमा पनि अध्यक्षका उम्मेदवार थिए । सो निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका लछुमन गुरुङ अध्यक्ष निर्वाचित हुँदा एमाले दोस्रो र एकीकृत समाजवादीबाट अध्यक्ष लडेका शाही तेस्रो भएका थिए ।
महाबुको अध्यक्षका लागि कांग्रेसले झलक भण्डारी र रास्वपाले प्रकाश बुढालाई उम्मेदवार बनाएको छ ।