नेपाली कांग्रेसले डडेलधुरा आउन लागेकी कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा आरजु राणा देउवको स्वागतका लागि उपस्थित हुने उर्दी जारी गरेको छ । आज जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै फूलमालासहित डडेल्धुरा बसपार्कमा जम्मा हुन उर्दी जारी गरेको हो ।
पार्टी सभापति भीमबहादुर साउँदले बुधबार विज्ञप्ति निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आदेश गरेका हुन् । परराष्ट्र मन्त्री राणालाई डडेल्धुरा बसपार्कमा भेला भएर स्वागत गर्ने कार्यक्रम छ ।
सभापति साउदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित रहन भनेका छन् ।
कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनदेखि डडेल्धुरामै छन् । देउवा पत्नी राणा भने आज डडेल्धुरा जान लागेकी हुन् ।