बंगलादेशमा भोलि ४० मेगावाट विद्युत् निर्यात हुने

भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ ।

गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति पठाएका दुई आयोजनामा भारतले स्वीकृति दिएको हो ।

योसँगै कात्तिक ३० गते (भोलि) एक दिन बिजुली बंगलादेश निर्यात गरिनेछ । नेपालले जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बंगादेशलाई बिक्री गर्न पाउने सम्झौता छ ।

अन्तिम समयमा स्वीकृति पाएसँगै शुक्रबार मध्याह्न १२:४५ बजेबाट बिजुली पठाउन लागिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको बिजुली बंगलादेश निर्यात गर्नेछ ।

मुजफ्फरपुरदेखि भारतको प्रसारणलाइनमार्फत बेहरामपुर–भेडामारा ४०० केभी प्रसारणलाइनबाट बिजुली बंगलादेश पुग्नेछ । विद्युत् प्राधिकरणका अनुसार ५ वर्षको लागि निर्यात सम्झौता भएको छ ।

नेपालले बंगलादेशलाई ६.४ अमेरिकी सेन्टमा प्रतियुनिट बिक्री गर्ने हस्ताक्षर भएको छ । नेपालको विद्युत् बंगलादेश पुर्‍याउन भारतीय कम्पनी एनभीभीएनको व्यापारिक भूमिका रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार