आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ ।
बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको छ ।
खेलाडीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी लगायतले स्वागत गरे । नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुगेको हो ।
फराकिलो अन्तरसहित जित्नै पर्ने दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
क्यानले बिहीबारनै खेलाडीको सम्मानका लागि जनही दुई लाख र टिममा रहेका अफिसियललाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।