समाजलाई अराजकतातिर फर्काउने कसरत भइरहेको छ, सतर्क बनौँ : प्रचण्ड

कपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूहरूले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोजे प्रतिवाद गर्ने चेतावनी पनि दिए । विगतमा जस्तै संविधान मिच्ने र संसद्लाई विघटन गर्ने कसरत हुन दिन नहुने उनको भनाइ छ ।

“हामीले विगतमा पटकपटक संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गरेर देशलाई फेरि एउटा भुमरीतर्फ लैजाने प्रयासविरुद्ध हामी लोकतन्त्रवादी, वामपन्थी मिलेर संघर्ष गरेर त्यसलाई असफल पारेको हो । अहिले पनि त्यो कोसिस कतैबाट हुन थाल्यो भने त्यसलाई रोक्न हामी सबै यो परिवर्तनका हिस्सेदारहरू, यो संविधानका पक्षधरहरू जो साँचो अर्थमा हृदयदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध थियौँ, छौँ । हामी कहीँ न कहीँ सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ,” उनले भने ।

अध्यक्ष प्रचण्डले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरू गम्भीर हुन जरुरी रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार