विवाह पञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन्। भगवान सीतारामको विवाहलाई लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि आज प्रस्थान गरेका हुन्।

तिलक लिएर जाने टोलीलाई मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाई गरे। मुख्यमन्त्री सिंह मंसिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ। तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले तिलक उत्सव भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त रहेको बताए। प्रत्येक पाँच वर्षमा अयोध्याबाट जन्ती आउने र त्यसका लागि मधेस प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।

त्रेता युगदेखि कायम सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। धार्मिक पर्यटकका लागि पनि यो महत्वपूर्ण बन्ने बताए। त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचिन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताए।

विश्व हिन्दु परिषद् को सक्रियतामा विगत वर्षझैँ यस वर्ष पनि सामूहिक विवाहको कार्यक्रम राखिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार