साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ ।
पछिल्लो मृत्युदण्ड शनिबार दक्षिणपश्चिमी क्षेत्र नजरानमा, खाडी राज्यमा लागुऔषध तस्करी गरेको आरोपमा यमनका एक नागरिकलाई दिइएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ ।
राज्य मिडिया रिपोर्टहरूबाट सङ्कलित तथ्याङ्कअनुसार यसले सन् २०२४ मा मृत्युदण्ड दिइएका विदेशीहरूको सङ्ख्या एक सय एक पु-याएको छ ।
यो सन् २०२३ र २०२२ को तथ्याङ्कको लगभग तीन गुणाभन्दा बढी हो । साउदी अधिकारीहरूले ती प्रत्येक वर्ष ३४ विदेशीलाई मृत्युदण्ड दिएका थिए ।
बर्लिनस्थित युरोपेली–साउदी मानवअधिकार सङ्गठन ९इएसओएचआर० ले यस वर्षको मृत्युदण्डले रेकर्ड तोडेको बताएको छ ।
“यो एक वर्षमा विदेशीहरूलाई मृत्युदण्ड दिइएको सबैभन्दा ठूलो सङ्ख्या हो । साउदी अरेबियाले एक वर्षमा एक सय विदेशीलाई कहिल्यै मृत्युदण्ड दिएको थिएन”, समूहका कानूनी निर्देशक ताहा अल–हज्जीले भने ।
साउदी अरेबियाले मृत्युदण्डको प्रयोगका कारण निरन्तर आलोचनाको सामना गरिरहेको छ । यसलाई मानव अधिकार समूहहरूले यसको आफ्नो कठोर छवि नरम पार्ने र अन्तर्राष्ट्रिय पर्यटक र लगानीकर्ताहरूलाई स्वागत गर्ने प्रयासहरूसँग असङ्गत भएको भन्दै निन्दा गरेका छन् ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीलाई तेल–समृद्ध राज्य साउदी अरेबियाले मृत्युदण्ड कार्यान्वयन गरेको थियो ।
सेप्टेम्बरमा एएफपीले साउदी अरेबियाले सन् २०२२ मा एक सय ९६ र सन् १९९५ मा एक सय ९२ को अघिल्लो उच्च सङ्ख्यालाई उछिन्दै तीन दशकभन्दा बढीमा सबैभन्दा बढी मृत्युदण्ड दिएको रिपोर्ट गरेको थियो ।
त्यसबेलादेखि मृत्युदण्ड द्रुत गतिमा जारी छ र एएफपीको तथ्याङ्कअनुसार आइतबारसम्म यस वर्षका लागि कूल दुई सय ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।