नक्कली फेसबुक आईडी प्रयोग गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–७ बस्ने रूद्र बहादुर गुरूङ रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । रूद्रले फेसबुक लगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी सोही आईडीहरूको दुरुपयोग गर्दै केटी साथी बनाउने गरेका थिए ।
आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनु पर्छ त्यस बापत पैसा लाग्छ भनी काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई करिब २७ लाख ८३ हजार २ सय रूपैयाँ रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।