पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध

पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ ।

भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मत सम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो ।

भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीले सेवा बन्द गरेको मेचीनगर–१५ निवासी हिरण्य न्यौपानेले बताए ।​

धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारी साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा पुर्‍याउँदै आएका थिए ।

‘पुलमै भ्वाङ परेपछि यात्री बोक्ने चार चक्के कुनै पनि गाडी चलेका छैनन्,’ स्थानीय न्यौपानेले भने, ‘जनताले साह्रै दुःख पाए, सरकारले पुल मर्मत गर्ने या अर्को पुल बनाउने बारेमा कुनै चासो दिएन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार