जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी भूल निर्विरोध निर्वाचित भएकी हुन् । बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डगौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
प्रमुख निर्वाचन अधिकृकतको कार्यालयका अनुसार जिसस प्रमुखका लागि कांग्रेसकी टीका र नाउपाकी रुपमतीको मात्र उम्मेदवारी परेको थियो ।
निर्वाचन आयोगले बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरेको थियो । नाउपाकी उम्मेदवारले निर्धारित समयमा उम्मेदवारी फिर्ता लिएपछि कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएकी हुन् ।
एमालेले कांग्रेस उम्मेदवार भूललाई समर्थन गरेर साझा उम्मेदवार बनाएको थियो । कांग्रेसबाट निर्वाचित जिसस प्रमुख पदम कलेलको २०७९ साल पुस २३ गते मृत्यु भएपछि उक्त पद रिक्त थियो ।