भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउनुपर्ने सीआईबीको राय

प्रहरी प्रभाग भैंसेपाटीकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता होबिन्द्र बोगटीले ६ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालयमा बुझाइएको पुष्टि गरे ।

विराटनगरका एक व्यापारीलाई युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने धम्की दिएर उनीबाट ३० लाख असुलेको आरोप इन्सपेक्टर शाहीमाथि छ । मुद्दा चलाउन सिफारिस गरिएका ६ जनामध्ये शाही र दर्शन पोखरेल फरार रहेका छन् । यसअघि नै पक्राउ परेका भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापाविरुद्ध पनि संगठित अपराध र आपराधिक लाभ कसुरमा मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको हो ।

सहायक हवलदार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्र्याप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ । हिरासतमै रहेकी विक हनी ट्रयापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज हनी ट्र्यापको मुख्य योजनाकार रहेको प्रहरीको सीआईबीको निष्कर्ष छ ।

उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ । यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ ।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत कनेक्नस देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

तर, सीआईबीले भने अहिले एसपी थापालाई छाडेर अन्यलाई मात्रै मुद्दा चलाउनुपर्ने राय दिएको छ । यसबारे सीआईबीका प्रवक्ता बोगटी भन्छन्, ‘उहाँको हकमा अनुसन्धान जारी छ । पछि थप केही खुलेमा सोही अनुसार हुन्छ ।’

एसपी र इन्स्पेक्टर मुछिएको हनी ट्रयाप घटनामा सीआईबीले थाल्यो अनुसन्धान

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी​

फरार इन्स्पेक्टर शाहीलाई खोज्दै सीआइबी

प्रहरी निरीक्षक शाही निलम्बन 

सम्बन्धित समाचार