निकासी कर उठाउने ठेकेदारको आवरणमा रोशन चौधरीले चलाएको असुली धन्दाले काठमाडौँ उपत्यकामा कवाडीको व्यवसाय गर्ने व्यवसायीले सास्ती भोग्नुपरेको छ । ललितपुर महानगरपालिकाको निकासी कर उठाउने जिम्मा पाएको इन्द्रेणी हार्डवेयरका सञ्चालक चौधरीले काठमाण्डौका व्यवसायीले समेत ललितपुरको रसिद लिनुपर्ने दबाब दिने र नमान्नेलाई सरकारी निकायमा झुट्टा सूचना दिएर दुःख दिने गरेका छन् ।
ललितपुरबाट निकासी हुने कवाडीजन्य वस्तुको कर उठाउने ठेक्का लिएका उनले बेरोजगार युवाहरूको समूह बनाएर काठमाडौँमा कर तिर्नुपर्ने व्यवसायीलाई अपहरणको शैलीमा ललितपुर पुर्याएर धम्काउने गरेका छन् । मंगलबार चौधरीले जम्मा पारेका केटाहरूले काठमाडौँको अन्नपूर्ण होटलबाट बाराका लागि हिँडेका ट्रकलाई बल्खुबाट ललितपुरतर्फ लैजान दबाब दिएका थिए ।
काठमाडौँबाट निकासी हुने बस्तुको कर काठमाडौँमा तिर्ने तर गुण्डागर्दीको शैलीमा धम्काएकै कारण ललितपुर नलैजाने अडानमा व्यवसायी देखिएपछि चौधरीको समूहले प्रहरीलाई समेत प्रयोग गरेर व्यवसायीलाई दुःख दिएको भिडियो टिभी अन्नपूर्णलाई प्राप्त भएको छ । भिडियोमा चौधरीले व्यवसायी धम्काएर असुली चलाउन पठाएका केटाहरूले व्यवसायीमाथि गरेको दुर्व्यवहारदेखि प्रहरीले पीडित व्यवसायीको गुनासोलाई बेवास्ता गर्दै चौधरीकै योजनामा गाडी रोकेर दुःख दिएको छ । बाराका लागि अन्नपूर्ण होटेलबाट छुटेको ट्रकलाई उनै चौधरीको इशारामा प्रहरीले नागढुंगाबाट फर्काएर बिहान ३ बजेसम्म बिनाकारण रोकेर दुःख दिएको थियो ।
दिनदहाडै अवैध असुली चलाएका रोशन चौधरीको इशारामा प्रहरीले ट्रक रोकेको विषयमा टिभी अन्नपूर्णले समाचार प्रसारण गरेपछि शिव सोनु ट्रेडसको बा.प्र.०३००१ ख २०९१ नम्बरको ट्रकलाई थानकोट प्रहरीले गलत सूचनाका आधारमा समातिएको भन्दै बिहान ४ बजेपछि छुटाएको थियो । त्यसो त दैनिक दर्जनौँ व्यवसायीलाई धम्काएर असुली चलाएका चौधरीले ट्रकलाई बाटोमै रोकेर दुःख दिने नियतले यसअघि पनि नेपाल प्रहरी र राजस्व अनुसन्धानका निकायहरूमा गलत सूचना समेत दिएको बुझिएको छ ।
त्यसो त चौधरीकै समूहले केहिदिन अघि असुली धन्दाको विरोध गर्ने एकजना व्यवसायीको ट्रकमा ११ केजी सुन रहेको भन्दै थानकोटमा गलत सूचना दिएर दुःख दिएका थिए भने छठको अघिल्लो दिन एउटा कवाडीको ट्रकमा बोधिचित्त रहेको गलत सूचना दिने पनि उनकै समूह रहेको आशङ्का छ ।
स्थानीय सरकारको करसम्बन्धी व्यवस्थामा आधारित निकासी करको ललितपुरको ठेक्का लिएका चौधरीले शक्तिकै आडमा काठमाण्डौका व्यवसायीले पनि ललितपुरमा कर तिर्नुपर्ने उर्दी जारी गर्दै दुःख दिन थालेपछि व्यवसायीले यसका बिरुद्ध प्रहरीमा उजुरी गरेपनि प्रहरीले व्यवसायीको पीडालाई नजरअन्दाज गर्दा थप अप्रिय घटनाको जोखिम बढेको व्यवसायीको गुनासो छ ।
काठमाण्डौका व्यवसायीलाई धम्काएर ललितपुरमा लैजाने र उतैबाट निकासी करको रसिद लिन बाध्य पार्दा आफ्ना लागि दोब्बर पैसा उठ्ने भएपछि यो समूहले व्यवसायी धम्काएर असुली चलाउनकै लागि महिनाकै ११ लाख दिनेगरि बेरोजगार युवाहरुलाई यसको जिम्मा दिनेगरि करारनामा समेत गरेको छ ।