अमेरिकाको न्याय मन्त्रालयले अनलाइन सर्चमा एकाधिकार अन्त्य गर्न गुगलले क्रोम ब्राउजर बिक्री गर्नुपर्ने बताएको छ । मन्त्रालयले अघि सारेको प्रस्तावमा क्रोम बिक्री गरेको पाँच वर्षसम्म कम्पनीलाई सर्च इन्जिनको मार्केट प्रवेश गर्न रोक लगाउने उल्लेख गरिएको छ ।
अमेरिकाको कोलम्बिया जिल्ला अदालतमा दायर यससम्बन्धी मुद्दा सन् २०२५ मा अघि बढ्ने ठानिएको छ । अदालतका न्यायाधीश अमित मेह्ताले गत अगस्टमा इन्टरनेट सर्चको बजारमा गुगलले अवैध एकाधिकार गरेको फैसला सुनाएका थिए ।
गुगलले तेस्रो पक्षलाई भुक्तानी गरेर समेत आफ्नो सर्च इन्जिनलाई डिफल्ट अथवा प्राथमिक बनाएको विषय समेत अदालतले हेरेको छ । अदालतमा पेस गरिएका कागजातमा गुगलको एन्ड्रोइड र क्रोमले एकाधिकार तोड्न ठूलो चुनौती खडा गरेको उल्लेख छ ।
गुगलले एन्ड्रोइडमा क्रोमलाई प्राथमिकतामा राख्न नछोडेमा एन्ड्रोइड नै बिक्री गर्नुपर्ने सुझाव समेत अदालतले अघि सारेको छ । गुगलले एप्पलका डिभाइसमा क्रोमलाई डिफल्ट ब्राउजर बनाउन गर्ने सम्झौता समेत खारेज गर्नुपर्ने अभियोजकहरूको भनाइ छ ।