नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिने भएको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिने भएको हो ।
निगमले बिहीबार विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा छुट घोषणा गरेको हो ।
कम्पनीले दिल्ली, मुम्बई र ब्यांग्लोरको लागि बजार भाडादरमा २ हजार ५ सय र दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताको लागि बजार भाडादरमा ५ हजार रुपैयाँसम्म छुट दिइने जनाएको छ ।
उक्त छुट जहाजको सिट उपलब्धताअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने निगम प्रवक्ता रमेश पौडेलले बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि हवाई भाडा अत्यधिक बढेको गुनासोपछि भाडामा छुट दिइएको हो,’ पौडेलले भने, ‘निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए कडा कारबाहीका लागि सप्रमाण जानकारी गराउन आग्रह गर्छौं ।’ सोको लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ ।