सत्ताको बागडोर सम्हालेका देशकै पहिलो र दोस्रो पार्टी (नेपाली कांग्रेस र नेकपा एमाले) ले शुक्रबार (मंसिर ७ गते) छुट्टा छुट्टै स्थानमा दुई महत्तवपूर्ण कार्यक्रम आयोजना गरेका छन् ।
सत्ताको नेतृत्व गरेको एमाले सडकमा उत्रिएकै दिन कांग्रेसले भने संसद् भवन नयाँ बानेश्वरमा आर्थिक सुधारको बारेमा छलफल गर्न लागेको हो ।
नेकपा एमालेले भोलि काठमाडौंको दरबारमार्गमा शक्ति प्रदर्शन गर्दैछ भने नेपाली कांग्रेसले संसद भवनमा बसेर मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ ।
एमालेले कम्तिमा ५० हजार जनता सडकमा उतार्ने घोषणा गरिसकेको छ । उसले भोलिको कार्यक्रमलाई जनसभाको संज्ञा दिएका छन् । एमालेको यो जागरण सभाको प्रमुख वक्ता प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नै हुने भएका छन् । जागरण सभा संयोजन समितिका सदस्य कैलाश ढुंगेलले प्रदर्शनपछि दरबारमार्गमा हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी दिए ।
उता, सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्न लागेको हो । शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ संस्थाका पदाधिकारी लगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए ।