असार मसान्तसम्म ६ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत असार मसान्तसम्म ६ सय ६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा सो सेवा उपलब्ध गराउन सम्बन्धित  परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । सो प्याजेकअन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ ।

१८ प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ । यस्तै चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवा प्रदायक छनोट भई निर्माण कार्य भइरहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार १८ वटा प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म १४ हजार २१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने १ हजार ७ सय ६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ । ७ सय २ स्थानीय निकायमध्ये असार मसान्तसम्म ६६३ स्थानमा इन्टरनेट जडान भइसकेको र ३९ स्थानीय तहमा जडान भइरहेको छ ।

यसैगरी ५ हजार ९ सय ३३ वडा कार्यालयमध्ये हालसम्म ५ हजार २ सय ६४ स्थान, ५ हजार २ सय २५ माध्यमिक विद्यालयमध्ये ४ हजार ६ सय ४० विद्यालय र ४ हजार १ सय २२ स्वास्थ्य संस्थामध्ये ३ हजार ६ सय ५१ संस्थामा इन्टरनेट जडान भइसकेको छ ।

सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म छ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइसकेको, दुई  परियोजनाको प्राधिकणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणअन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको र दुई परियोजनाको दोस्रोचरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण  भइरहेको छ ।

कुल ५ अर्ब २६ करोड ९७ लाख ७० हजार रूपैयाँ रकममध्ये हालसम्म ३ अर्ब ३८ करोड ८७ लाख रूपैयाँ ब्रोडब्याण्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए ।

उनका अनुसार  सो परियोजना अन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । उक्त परियोजनामा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेटिएको  छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार