शंकर ग्रुपले भित्र्यायो चिनियाँ स्मार्टफोन ब्राण्ड ‘रियलमी’ (भिडियो)

व्यवसायिक घराना शंकर ग्रुपले अब मोबाइल समेत बिक्री गर्न थालेको छ । ४० वर्षदेखि निर्माण क्षेत्रका उद्योगमा पायोनियर मानिएको यो समूहले चिनियाँ स्मार्टफोन ‘रियलमी’ ब्रान्डलाई अधिकृत नेपाल बिक्रेताका रुपमा भित्र्याएको हो ।

रियलमीको आधिकारिक बिक्रेता घोषणासँगै डिलरहरुका लागि कम्पनीले आइतबार काठमाडौंमा कार्यक्रमसमेत आयोजना गरेको थियो । कम्पनीले रियलमीका थोक तथा खुद्रा बिक्रेताहरुका लागि यो स्मार्टफोन बिक्रीवापत थुप्रै आकर्षक स्किमहरु पनि घोषणा गरेको छ । यस्तो स्किम यसअघि र अहिलेसम्म अन्‍य कुनैपनि ब्रान्डका मोबाइल कम्पनीहरुले बिक्रेताहरुलाई नदिएको दाबी गरिएको छ ।

आफ्ना रिटेलर्सहरुका लागि शंकर समूहले १०० दिने अभियान घोषणा छ । अभियान १५ अगस्टदेखि २४ नोभेम्बर २०२१ सम्म चल्नेछ । यस अभियान अन्तर्गत कुनै पनि रिटेलरले उक्त अवधिमा दुई हजार थान मोबाइल सेट बेच्न सके प्रोटोन सागा गाडी दिने घोषणा गरेको छ । यस्तै ११ सय युनिट स्मार्टफोन बिक्री गर्नेलाई टिभिएस आरआर ३१० मोटरसाइकल र आठ सय युनिट बिक्री गर्नेलाई ५० ग्राम सुन र चार सय ५० युनिट फोन बिक्री गर्नेलाई ३० ग्राम सुन प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार विश्वबजारमा यस वर्ष रियलमीको बिक्री एक सय ३५ प्रतिशतले बढेको छ । भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत छ ।

भारतका उल्लेख रुपमा रुचाइएको रियलमीका उत्पादन नेपाली बजारमा पनि उस्तै छाप छोड्न आफुहरुले हरसम्भव प्रयास गर्ने रियलमी भारत तथा युरोपका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माधव सेठले जानकारी दिए । ‘रियलमीको उल्लेख्य यात्राको क्रममा यो एक नयाँ आयाम हो, जुन हामी सबैको लागि गर्वको क्षण हो । रियलमीले भारतमा ठूलो सफलता पाएको छ । नेपाली बजारमा पनि नविनतम प्रविधिका उत्पादनहरु उत्कृष्ट मूल्यमा नेपाली उपभोक्ताहरु माझ प्रस्तुत गरेर सफलता हासिल गर्नेमा विश्वस्त छौँ,’ उपाध्यक्ष शेठले भने ।

त्यसैगरी, शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले रियलमीसँग साझेदारी गर्न पाउँदा आफुहरुलाई गौरव लागेको बताए। ‘नेपालमा रियलमी डिभाइसहरुको आधिकारिक बितरकका नाताले नेपालका ग्राहकहरुलाई सुलभ मूल्यमा नयाँ प्रविधिका प्रडक्ट भित्र्याउने छौं । आगामी दिनमा हाम्रो साझेदारी थप सुदृढ हुँदै जानेछ,’ अग्रवालले भने ।

रियलमीको उत्पादन श्रेणीमा उत्कृष्ट फोजी फ्ल्यागसिपहरु रियलमी एक्स–३ र एक्स–३ सुपरजुम, रियलमी सी–११, रियलमी सी–१२ तथा रियलमी सी–१५ हुन् । शंकर समूहले सी११ (२०२१) स्मार्टफोनलाई सबैभन्दा पहिला लन्च गर्ने बुझिएको छ । साथै, रियलमी एटलाई नयाँ मूल्यसहित कम्पनीले नेपाली बजारमा लन्च गर्ने बताइएको छ ।

पछिल्ला वर्षहरुमा व्यवसाय विस्तारमा आक्रमकरुपमा प्रस्तुत भएको शंकर समूहले उल्लेख्य सफलता हाँसिल गरेको छ । यो समूहले ठूला र पूराना कतिपय व्यावसायिक घरानालाई निकै पछि पारिसकेको छ । यस कम्पनीले गतवर्ष आफ्नो ग्रुप अन्तर्गतका कम्पनीबाट १ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार