नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश थापालाई संस्थागत बहिष्कार गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई बहिष्कार गर्ने निर्णय गरेको हो ।
थापाले केहीदिन अगाडि ल्याएको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ तीजको मर्म विपरित रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको ठहर गर्दै प्रतिष्ठानले यस्तो निर्णय गरेको हो ।
गायक दुर्गेशको सो गीत सार्वजनिक गर्नुअघि नै गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स’ हटाउन प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो। प्रतिष्ठानले साउन ७ गते नै दुर्गेशलाई ध्यानाकर्षण पत्र समेत बुझाएको थियो।तर, दुर्गेशले भने प्रतिष्ठानको अनुरोधलाई बेवास्ता गर्दै शब्द परिवर्तन नगरी ‘ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।
गीतमा प्रयोग भएका शब्दहरुले तीज पर्व र चेलिबेटिको नै खिल्ली उडाएको भन्दै थापाको चर्को आलोचना हुँदै आएको थियो । प्रतिष्ठानले आफ्नो अनुरोध अस्वीकार गर्दै नेपाली कलासंस्कृति माथि लगातार प्रहार गरेको भन्दै दुर्गेशलाई संस्थागत र सार्वजनिक रुपमा बहिष्कार गर्ने निर्णयमा प्रतिष्ठान पुगेको प्रतिष्ठान स्रोतले जनाएको छ ।
जुलाई २३ मा रिलिज भएको गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ ।