पोखरा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा पेस गरेको छ ।
सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज (आइतबार) पाँचौँपटक म्याद थपका लागि अदालत पेस गरेको हो । यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । सो म्याद सकिएपछि आइतबार अदालत उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ६ दिन, दोस्रोपटक सात दिन र तेस्रोपटक १० र चौथोपटक १३ दिनको म्याद दिएको थियो । म्याद थपपछि उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीको छ ।
उनीसँग पूर्वडीआईजी छविलाल जोशीलाई समेत म्याद थपका लागि अदालत पुर्याइएको छ । छविलाई भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयानका लागि गएको मंगलबार काठमाडौं ल्याइएको थियो । शुक्रबार उनलाई पोखरा फर्काइएको छ ।