नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किए भारतीय सेना प्रमुख

 भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा पाँचदिने नेपाल भ्रमणमा आएका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले बिदाइ गरे । भ्रमण दौरान जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका थिए ।

उनले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

उनले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना मुख्यालयको भ्रमण गरेका थिए । उनले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन समेत गरेका थिए ।

“यस भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” नेपाली सेनाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार