कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् ।

देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

१५ औं महाधिवेशनदेखि कांग्रेसले कोषाध्यक्ष मनोनीतबाट ल्याउने गरी विधान संशोधन गरेको थियो । त्यसअघि कांग्रेसमा सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन हुने गरेको थियो । कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै संयन्त्रलाई पूर्णता दिने व्यवस्था छ । तर सभापति देउवाले केन्द्रीय कोषाध्यक्ष मनोनीत गर्न झण्डै ३ वर्ष लगाएका छन् ।

श्रेष्ठले लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा रहेर योगदान दिँदै आएका थिए । यसअघि कांग्रेसमा रहेका उद्यमी नेताहरुले गरिखाने अभियान नै चलाएका थिए । त्यसको पनि नेतृत्वदायी भूमिका उनै श्रेष्ठ थिए । ०७९ को निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । तर, रास्वपाका सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

सम्बन्धित समाचार