वायु प्रदूषण बढेपछि वातावरण विभागले भन्यो– प्लास्टिकजन्य फोहोर नजलाउनू

काठमाडौं उपत्यकालगायत स्थानमा वायु प्रदूषण बढेपछि वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहर नजलाउन आग्रह गरेको छ ।

हिउँदयाम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएपछि विभागले प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । 

विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन् । 

वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । 

१५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गरिन्छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । 

विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न आग्रह गरेको छ । 

सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ । विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ । 

सम्बन्धित समाचार