प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।
सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीले सोमबार २ बजेका लागि त्रैमासिक समीक्षा बैठक बोलाएका थिए । त्यो बैठक स्थगन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ ।
आजको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने सम्भावना छ । अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनौट भएका पाँच उम्मेदवारमध्ये सन्तोष श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम आइतबार मात्रै सिफारिस गरेको छ ।
धितोपत्रसम्बन्धी ऐन २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ ।
त्यसैगरी दुवै प्रहरी संगठनको नयाँ विधेयक पनि आजको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्न स्वीकृती दिने सम्भावना छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदामा गृहमन्त्री रमेश लेखकले गएको शुक्रबारै हस्ताक्षर गरेका थिए ।