उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार नरेश श्रेष्ठले आफ्नो उमेदवारी निष्क्रिय गरेका छन् । उनले अर्का स्वतन्त्र उमेदवार राजमान महर्जन (मानव)लाई सहयोगरसमर्थन गर्ने घोषणा गरेका हुन् ।
सोमबार बिहान पाँगामा आयोजित चुनावी प्रचार कार्यक्रममा उनले महर्जनलाई मत दिन आग्रह गरे । ‘म कीर्तिपुर नगरपालिकाको स्वतन्त्र उम्मेदवार अधिवक्ता नरेश श्रेष्ठले विजयउन्मुख हुँदै गरेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) लाई आजदेखि साथ समर्थन गर्दछु,’ उनले भने ।
महर्जनका पक्षमा मत माग्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि पाँगा पुगेका छन् । उनले महर्जनलाई जिताउन आग्रह गरे ।
महर्जनले केटाकेटी चुनाव चिह्न पाएका छन् । उनले सरसफाइ अभियान चलाउँदै आएका छन् । स्वतन्त्र उमेदवार महर्जन ०६० सालसम्म नेकपा (एमाले)मा आबद्ध थिए । महर्जनलाई समर्थन गर्ने बताएर उमेदवारी निष्क्रिय गरेका श्रेष्ठले पानीको बोतल चुनाव चिह्न पाएका छन् ।
कीर्तिपुरको मेयर र वडा नम्बर १ तथा वडा नम्बर ४ मा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । यहाँ प्रमुख पदका लागि २० जना र वडा नम्बर १ मा ९ र ४ मा १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।