पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई धराशायी बनाउने योजनामा रहेको एउटा गिरोहले निगममा एकपछि अर्को समस्या सिर्जना गर्न खोजेको देखिएको छ ।
केही समयअघि विमान चेकजाँच र मर्मतका बेला प्राविधिक समस्यामा खेलेर निगमको दुष्प्रचारमा सक्रिय सोही समूह यति बेला पाइलटलाई उचालेर सेवा अवरुद्ध गर्न लागिपरेको छ । निगमका सबै जहाज सञ्चालनमा आएपछि सलबलाएको गिरोहकै योजनामा निगमका पाइलटले शनिबारदेखि अघोषित हडताल थालेका छन् । सेवा सुविधा वृद्धिको नाम दिएर निगम डुबाउने योजना बुनेको सोही गिरोहको इसारामा शनिवारदेखि पाइलटहरू नियमित उडानमा नगएपछि गिरोहको चलखेल फेरि सतहमा आएको हो ।
पछिल्लो समय आन्तरिक व्यवस्थापन र व्यापारमा राम्रो सङ्केत देखेपछि धराशायी बनाउन उद्यत गिरोहले अहिले पारिश्रमिक वृद्धिको नाममा विमानका पाइलटहरूलाई हडतालमा उतार्न न्वारानदेखिको बल लगाइरहेको छ ।
निगमका विमान सञ्चालनमा समस्या ल्याएपछि नेपालमा सञ्चालन हुने अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई फाइदा हुन्छ । व्यापारमा समस्या पैदा गराउन सके निगमको आम्दानी घटेर धराशायी हुने बुझाइका साथ सोही गिरोहले कर्मचारीलाई उचालेर विमान सेवा अवरुद्ध गर्ने दुष्प्रयास हुँदै आएको छ । केही समय अघि विमान परिचारिकाको उमेरको विषयलाई लिएर उडान अवरुद्ध गरेको गिरोह नै अहिले पाइलटलाई उचालेर निगमको सेवा अवरुद्ध पार्न खोजी रहेको जानकारहरु बताउँछन् ।
सोही गिरोहको उक्साहटमा निगमका ४३ मध्ये ८ पाइलटहरूले तलब वृद्धिको माग पूरा नभएको भन्दै योजनाबद्ध रूपमा सामूहिक बिरामी बिदाको फारम भरेर नियमित उडानलाई प्रभावित पारेका छन् । शनिबारदेखि यसले उडानमा समेत समस्या देखिएको निगमका अपरेसन विभाग प्रमुख दिपु ज्वहारचनको भनाई छ । शनिबादेखि सामूहिक रूपमा उडान प्रभावित गर्ने योजनासहित सामूहिक बिदामा बसेका पाइलटका कारण समस्या देखिएपछि ज्वहारचनले एक सूचना जारी गर्दे तत्काल आआफ्नो रोस्टरमा फर्कर्न निर्देशन दिएका छन् । तलब सुविधा वृद्धिको विषय मन्त्रालयसम्मै पुगेको र भोली मन्त्रीसँग भेटघाटकै कार्यक्रम बन्दासमेत नियमित काम रोकेर हडताल गर्नेलाई कारबाही हुन सक्ने सङ्केत समेत सूचनामा छ ।
त्यसो त अत्यावश्यक सेवाका रूपमा रहेको हवाई सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्था छ ।