कर्जन्हाका तत्कालीन मेयरसहित ५ जनालाई साढे २ वर्ष कैद

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गङ्गा पासवानसहित ५ जनालाई २ वर्ष ६ महिना कैदको फैसला भएको छ ।

विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उनीहरूलाई सजाय निर्धारण गरेको हो ।

यसैगरी जनही २१ लाख ६० हजार रूपैयाँ बिगो र त्यति नै जरिवाना गरी ४३ लाख २० हजारका दरले रकम भराउने फैसला पनि विशेष अदालतले गरेको छ ।

विशेषले उनीहरूलाई कात्तिक २८ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर पासवानसहित प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई प्रतिवादी बनाएर २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगले उनीहरूसँग १ करोड ८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनिमियतता गरेको अभियोगसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार