मन्थली-काठमाडौं उडान सेवा बन्द

रामेछाप । दुई महिना अगाडिबाट रामेछापको मन्थलीमा उडान सुरु गरेका विमान कम्पनीहरूले मन्थली-काठमाण्डौं उडान सेवा बन्द गरेका छन् । मन्थलीबाट काठमाडौं र काठमाडौंबाट मन्थलीका लागि उडान तालिका नभएको भन्दै विमान कम्पनीहरूले उडान बन्द गरेका हुन् ।

गत असोज १२ गतेको भीषण बाढीका कारण बिपी राजमार्ग बगाएपछि यातायात सम्पर्क टुटेको रामेछाप जिल्लामा असोजको तेस्रो सातादेखि निजी विमान कम्पनीहरूले दैनिक एक उडान गर्दै आएका थिए ।

तारा एयर, समिट एयर र सिता एयरले उडान गर्दै आएको मन्थली विमानस्थलमा विगत दुई साता देखी काठमाडौंका लागि उडान सेवा बन्द भएको छ । बिना सूचना विमान कम्पनीहरूले उडान बन्द गरेपछि जहाजको टिकट लिएका यात्रुहरू समेत अलपत्र परेका थिए ।

जलश्रोत, ऊर्जा तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङसहित जिल्लावासीहरूको तीव्र दबाब पछि उडान सुरु गरेका विमान कम्पनीहरूले अहिले उडान सेवा बन्द गरेपछि सर्वसाधारणहरू मारमा परेका छन् ।

विमान कम्पनीहरूले उडान सेवा बन्द भएको घोषणा नगरेको भएपनि अहिले उडान तालिका नभएको भन्दै मन्थलीबाट काठमाडौं रकाठमाडौंबाट मन्थलीका लागि उडान सेवा बन्द गरेका छन् । तर तिनै एयसलाइन्सहरुले मन्थलीबाट लुक्लाका लागि भने दैनिक ४० भन्दा बढी उडानहरू गर्दै आएका छन् ।

सम्बन्धित समाचार