प्रहरी र चिन्मय कृष्ण दासका समर्थकबीच चटगाउँ अदालत भवन क्षेत्रमा झडप भएको छ ।
सो झडपमा परी एक वकिलको पनि मृत्यु भएको छ । मृतक ३२ वर्षीय सैफुल इस्लाम चटगाउँ जिल्ला बार एसोसिएसनका सदस्य समेत थिए ।
उनलाई चटगाउँ मेडिकल कलेज अस्पताल लगिएकोमा दिउँसो ४ बजे ड्युटीमा रहेका चिकित्सकले मृत घोषणा गरेको सीएमसीएचका प्रहरी क्याम्प इन्चार्ज नुरुल इस्लामले बताए ।
बंगलादेशी वेबसाइट द डेली स्टारका अनुसार चिन्मय दासलाई पक्राउ गरेपछि स्थिति बिग्रँदै गएको देखेर प्रहरी र बोर्डर गार्ड बंगलादेश (बीजीबी)का जवानहरूले भ्यानलाई बाटो खाली गर्न साउन्ड ग्रेनेड र लाठी प्रहार गरेका थिए।
चट्टोग्राम जिल्ला बार एसोसिएसनका अध्यक्ष नाजिम उद्दिन चौधरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै द डेली स्टारलाई भने, ‘झडपका क्रममा अदालत परिसरमा विरोध गरिरहेका केही चिन्मयका समर्थकले सैफुललाई दिउँसो ३ः३० बजेतिर रंगम कन्भेन्सन हलमा घिसार्दै उनीमाथि आक्रमण गरेका थिए ।’
गोलाम रसूल मार्केटका कर्मचारी मोहम्मद दिदार र अन्य स्थानीयले सैफुललाई उद्धार गरी अस्पताल पुर्याएका थिए । उनले भने, ‘रङ्गम कन्भेन्सन हल नजिकैको सडकमा केही चिन्मय समर्थकले वकिलमाथि आक्रमण गरेका थिए ।’ झडपमा पत्रकारसहित १० जना घाइते भएका छन् । जसमध्ये ५ जनाको सीएमसीएचमा उपचार भइरहेको छ ।
उता, अदालतले चिन्मय दासको जमानत खारेज गर्दै जेल चलान गरेको छ । यसअघि महानगरीय मजिस्ट्रेट काजी शरीफुल इस्लामले संहिता सनातन जागरण जोतका प्रवक्ता चिन्मय दासलाई बंगलादेशको झण्डाको अपमान गरेको अभियोगमा जेल चलान गरेका थिए । अदालतको आदेशपछि दिउँसो १२ बजेतिर उनका समर्थकहरूले विरोध प्रदर्शन गर्न थालेका हुन् ।
चटगाउँ इस्कॉन (इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सनसनेस) का पूर्व डिभिजनल आयोजक सचिव चिन्मयलाई बोकेको जेल भ्यानलाई रोक्न खोजेका थिए । यसलाई रोक्न प्रहरीले लाठीचार्ज र साउन्ड ग्रेनेड प्रयोग गर्नुपरेको थियो ।