प्रधानमन्त्री ओलीको प्रश्न- बन्द उद्योग हामीले चलाउन सक्दैनौँ भने सक्नेलाई किन नदिने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द भएका सरकारी स्वामित्वका उद्योगहरू निजी क्षेत्रलाई दिने संकेत गरेका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बन्द भएका उद्योगहरू चलाउन नसक्ने हो भने चलाउन सक्नेलाई किन नदिने भनी प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘तल्लो वर्गसम्म कसरी लाभ दिन सकिन्छ ? बन्द भएका उद्योगहरू के गर्ने हो ? हामीले चलाउन सक्दैनौँ भने चलाउन सक्नेलाई चलाउन किन नदिने ? परिणाम नदिने र प्रभावकारी नहुने अनावश्यक संरचनाहरू किन राख्ने ?’

उनले विभिन्न मन्त्रालय र तीमातहतका संरचनाहरू कामयाबी नभएकोमा असन्तोष पनि पोखे । उनको भनाइ थियो, ‘देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ । काम नहुँदा निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो । हामी सरकारमा भएको उपादेयता हुनुपर्‍यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ ।’

सम्बन्धित समाचार