हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उपनिर्वाचनमा सत्तारूढ नेपाली कांग्रेसले नेकपा (एमाले)को साथ खोजेको छ । कांग्रेसले एमालेलाई चुनावी सहकार्यको प्रस्ताव राखेका हो ।
बुधबार कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमालेका नेता गोरखबहादुर बोगटीसहित स्थानीय नेताहरूसँग तालमेलबारे छलफल गरेका हुन् । परियारले छलफल भए पनि टुंगोमा नपुगिएको बताए ।
“हामीले नै चुनाव जित्ने पक्का छ । तर, एमाले तेस्रो पोजिसनमा रहेकाले हामीलाई सहयोग गर्नुस् भनेका छौँ,” सहमहामन्त्री परियारले भने, “उहाँहरू सकारात्मक हुनुहुन्छ । केन्द्रबाट निर्णय आए गर्छौं भन्नुभएको छ ।”
कांग्रेस केन्द्रीय सदस्य रंगमति शाहीले पनि सहमति भइनसकेको बताइन् । “सहामन्त्रीसँग भेट्न आउनुभएको थियो । भेटपछि फोटो खिचिएको हो, सहमति भइसकेको छैन,” उनले भनिन् ।
सर्केगाडमा कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, नेकपा (माओवादी केन्द्र)बाट देवकी तिमल्सेना उमेदवार छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाँचा बुढा र नरेश शाही स्वतन्त्र उमेदवार छन् ।
सर्केगाडमा ०७९ को निर्वाचनमा कांग्रेस–माओवादीबीच गठबन्धन भएको थियो । पालिका अध्यक्षमा कांग्रेसका ठानबहादुर रोकाया तीनहजार ३४५ मत ल्याएर निर्वाचित भएका थिए । माओवादीबाट चन्द्रसिंह कार्की पालिका उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले तीनहजार २६९ मत ल्याएका थिए ।
उपाध्यक्षमा निर्वाचित कार्कीको ०८१ भदौ ४ गते सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । कार्कीका प्रतिष्पर्धी एमालेकी जुनकुमारी फडेरा एक हजार ६४ मत ल्याएर पराजित भएकी थिइन् ।