मन्त्री अधिकारीलाई उन्मुक्ति दिएकोमा माओवादीको आपत्ति

नेकपा माओवादी केन्द्रले मानव तस्करीमा जोडिएको आरोप लागेका कोशीका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै स्थानीय तहको उपनिर्वाचनपछि सरकारविरुद्ध खबरदारीमा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

‘अहिले पूर्वमन्त्रीलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरेकोमा हाम्रो पार्टीको आपत्ति छ,’ सापकोटाले भने, ‘जसको निर्देशनमा मानिस जापान लैजाने काम भयो उसैलाई उन्मुक्ति दिने, उनलाई छुटाएर मुद्दा दर्ता गरिएको छ ।’

जापान प्रकरणमा पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको थियो । तर अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले भ्रष्टचारी र माफियाको संरक्षण गर्दै आएको आरोपसमेत उनले लगाएका छन् ।

बैठकले स्थानीय तहमा एकैसाथ पालिका सम्मेलन गर्ने कार्यविधि तयार गरेको छ । बैठकले निर्वाचन आयोगमा पेश गर्न तीन महलेसँगै समग्र सम्पादन गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । ‘पालिका सम्मेलनको कार्यविधि बनेको छ र त्यो अब तल जान्छ’ उनले भने, ‘पालिका सम्मेलन र खबरदारी सभा सँगै गर्ने निर्णय भएको छ ।’

सम्बन्धित समाचार