कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् ।
शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद गिरिधारीलाल न्यौपानेसहित एमाले नेताहरु चढेको बी एए १२९७ नम्बरको गाडी प्रहरीलाई बुझाएका हुन् ।
उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए । वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको मानव अधिकारकर्मीसमेत रहेका स्थानीय रबी ठाकुरले बताए ।
सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए । आज उपनिर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन दलहरुले प्रचारप्रसार व्यापक बनाएका छन् । आजराति १२ बजेबाट मौन अवधि सुरु हुनेछ।