कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तह उपनिर्वाचनमा कसैलाई पनि समर्थन नगर्ने भएको छ ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि रास्वपाबाट नगर सभापति जयराम कार्कीले आकांक्षा राखेपनि पूर्व कांग्रेसी विरासतको नेता भन्दै रास्वपाले टिकट दिएन । कार्कीलाई टिकट नदिएको रास्वपाले अन्य उम्मेदवार नपाएपछि मनोनयन दर्ता गरेको थिएन ।
आफ्नो पार्टीबाट उम्मेदवार नउठाएको रास्वपाले स्वतन्त्र उम्मेदवार राजमान मानव वा माओवादी केन्द्रका डा शिवशरण महर्जनमध्ये एक जनालाई समर्थन गर्ने तयारी गरेको थियो । तर, नेताहरुबीच कुरा नमिलेपछि कसैलाई पनि समर्थन नगर्ने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।
रास्वपाले सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका मानवालाई समर्थन गर्ने संकेत गरेको थियो । तर, उनलाई धरानका मेयर हर्कराज राईले समर्थन गरेपछि रास्वपा पछि हटेको स्रोतको भनाइ छ ।
०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुँदैछ ।