सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।
लामिछानेलाई काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि आज बुद्ध एयरलाइन्सको जहाजमार्फत ल्याइएको हो ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा समेत संलग्नता रहेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही सहकारी ठगीको अनुसन्धानको लागि उनलाई काठमाडौं ल्याइएको हो ।
लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट उनलाई सोझै जिल्ला प्रहरी कार्यालय परिसर भद्रकाली लगिएको छ । सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रहरी परिसर क्षेत्र वरपर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।