पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज बयान लिइँदैछ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि विहिबार काठमाडौं ल्याइएका उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
उनको आजदेखि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान हुने बताइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा गत कात्तिक २ देखि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले यहाँ ल्याइएको हो ।
यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई पनि काठमाडौँ ल्याएर बयान लिइएको थियो। हाल उनीहरूलाई कास्की (पोखरा) फर्काइसकिएको छ । उनीहरूको बयान लिइसकेपछि प्रहरीले रविलाई काठमाडौँ ल्याएर बयान लिन लागेको हो ।
रविले गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन र स्वर्णलक्ष्मीसहित ५ वटा सहकारीका रकम लगेर अपचलन गरेको आरोप छ । सोही विषयमा अनुसन्धानका क्रममा कास्कीमा उनीविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको समेत मुद्दा चलाइएको छ।