प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुने चीन भ्रमणको क्रममा पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्ने भएका छन् ।
पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय सहकार्य, र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे आफ्ना विचार प्रस्तुत गर्नेछन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा हुन लागेको यस भ्रमणमा प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटघाटहरू, द्विपक्षीय वार्ता र व्यापार मञ्चहरूमा सहभागिता रहनेछ ।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघ को संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ली छ्याङसँगको भेटमा आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ र राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, उच्चस्तरीय सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरूको टोली रहनेछन् । प्रधानमन्त्री ओली र उनको प्रतिनिधिमण्डल २० गते फर्कने छ ।