माओवादी र एकीकृत समाजवादीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा सो पार्टीको आधिकारिक उम्मेदवार नहुने भएको हो । चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए ।

यस्तै तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने निर्णय गरेको केन्द्रीय सदस्य आशा कोइरालाले बताइन् । तनहुँका माओवादी नेताहरूले पार्टीकै उम्मेदवार उठाउनुपर्‍यो गत शनिवार प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए ।

यस्तै बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ । उक्त क्षेत्रमा यसअघि जसपाले जितेकाले माओवादीले जसपाका उम्मेदवार यादवलाई सघाउने माओवादी केन्द्रका सचिव गणेश साहले बताए ।

यता नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।

सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । समाजवादीले तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ ।

यस्तै बारा २ मा समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । यस क्षेत्रमा समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ ।