नक्कली कागजात तयार गरेर जापानमा मानव बेचबिखन तथा ओसार पसार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारी जोडिएको यो मुद्दामा पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो ।
यस्तै तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीसँगै जापान पुगेका खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटालाई जनही ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसैगरि नक्कली कागजात तयार गरेको आरोपमा पक्राउ परेका खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राईलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
अधिकारीसँग जापान पुगेर फर्किएका युवा भने दलाललाई रकम बुझाएर गएका हुन् । उनीहरुलाई त्यहाँ पठाउने तीन जना फरार छन् ।
यही प्रकरणमा मुछिएका अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।
यता जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीमाथि मुद्दा नचल्ने निर्णय गरेको छ । अधिकारीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध शुक्रबार नै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।