प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन् । उनको टोली साँझ ६ बजेर १० मिनेटमा बेइजिङ पुग्ने छ ।
दुईपक्षीय भेटवार्ता भने मंगलबारमात्रै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलबार प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्नेछन् । सोही दिन सङ्ग्रहालय भ्रमणको पनि कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली मंसिर २० गते साढे २ बजे स्वदेश फर्कने छन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी छन् ।