कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ ।
सोमबार भएको दिनको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो ।
कर्णाली याक्सले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले २९ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो ।
ओपनर अनिल शाह ६२ र जेम्स निसम १६ रनमा अविजित रहे । अनिलले ४२ बलमा ६ चौका र ३ छक्का हाने । निसमले ८ बलमा २ चौका र १ छक्का प्रहार गरे । अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।
दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।
जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।
कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।