राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा ९ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा बिधुवा महिला बढी रहेको देखाएको छ ।नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताए ।
उनले भने, ‘‘अध्ययन गर्दा विधवा, सम्बन्धविच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको छ । विगतका विभिन्न समयमा भएका जनगणनाका तथ्याङ्कहरूलाई समेत आधार बनाएका छौँ । अध्ययनबाट प्रतिवेदनमा सबैभन्दा बढी एकल महिलामा पनि बिधुवा महिला बढी छ । एकल महिलाको घरपरिवार अवस्था विश्लेषण गर्दा ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको छ । यी ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखियो ।’’
उनले जसमा सात लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेको देखिएको पनि बताए । उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्याङ्कले देखाएको जानकारी दिए । उनले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गरे ।
निर्देशक सिलवालले कार्यालयले अध्ययन गर्दा विधवा, सम्बन्ध विच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्याङ्क विश्लेषण गरिएको बताए । उनले विधवा र अन्य एकल महिला रहेका घरपरिवारका विशेषता एकै प्रकारका रहेको जिकिर गरे ।
उनका अनुसार कम्तीमा एक जना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत यी दुई प्रदेशमा देखिएको छ । दश वर्ष वा सोभन्दा माथिका कुल महिला जनसङ्ख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको भन्दै तथ्याङ्कले विदुर २.२ प्रतिशतभन्दा विधवा महिलाको सङ्ख्या धेरै ६.६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको उनको भनाइ छ ।
निर्देशक सिलवाले सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१ मा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिए । उनले सन् २००१ मा थप ३ प्रतिशतले बढेर २०२१ मा ६.६ प्रतिशत पुगेको उल्लेख गरे । उनले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको भन्दै ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको जानकारी दिए ।
‘‘दश वर्ष वा सोभन्दा माथिका कुल महिला जनसङ्ख्यामध्ये ८.२ प्रतिशत एकल महिला थिए । तथ्याङ्कले विदुर २.२ प्रतिशतभन्दा विधवा महिलाको सङ्ख्या धेरै ६.६ प्रतिशत रहेको छ । सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१ मा झन्डै दोब्बरले वृद्धि भएको छ’’ उनले भने, ‘‘त्यस्तै सन् २००१ मा थप ३ प्रतिशतले बढी २०२१ मा ६.६ प्रतिशत पुग्यो । विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दर बढेको छ । ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१मा ०.७ प्रतिशत पुगेको छ’ उनले एकल महिलाका विषयमा राज्यले नीति निर्माण गर्दा बलियो दस्ताबेज हुने बताए ।