प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेको हिमालय एयरलाइन्सले जनाएको छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज मंसिर १७ देखि २० गतेसम्मका लाग चीनको भ्रमणमा गएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग मंसिर १८ गते बेइजिङमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । मंगलबार प्रधानमन्त्री ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ, चिनियाँ जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्नेछन् । सोही दिन सङ्ग्रहालय भ्रमणको पनि कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारीतर्फ ४६ र निजी क्षेत्रबाट ३२ गरी ७८ सदस्य सहभागी छन् ।
औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान (भिडियो)