बलिउड फिल्म ‘१२ वीं फेल’ का अभिनेता विक्रान्त मेसीले अभिनयबाट सन्यास लिने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् ।
‘नमस्ते, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू अद्भुत रह्यो । तपाईंको निरन्तर सहयोगको लागि म सबैलाई धन्यवाद दिन्छु । तर, जब म अगाडि बढ्दै छु, मैले महसुस गरें कि यो आफैलाई सन्तुलन र घर फर्कने समय हो । एक श्रीमान, बुबा, छोरा र अभिनेताको रूपमा पनि। २०२५ मा हामी अन्तिम पटक एक अर्कालाई भेट्नेछौं,’विक्रान्तले लेखेका छन् ।
विक्रान्त मेसीले अभिनयबाट ब्रेक लिनुको कारण अहिलेसम्म खुलाएका छैनन्, तर उनका फ्यानहरू उनको घोषणाबाट निराश भएका छन् ।
मेसीले सानो पर्दाबाट अभिनय करिअर थालेका थिए । उनले धरम वीर, बालिका वधू, कुबुल है जस्ता टिभी शोमा काम गरे । सानो पर्दामा आफ्नो छाप छोडेपछि उनी बलिउडतिर लागे ।
मेसीले सन् २०१३ मा फिल्म ‘लुटेरा’बाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले दिल धड्कने दो, छपाक जस्ता फिल्ममा पनि काम गरे । उनले धेरै फिल्ममा काम गरे तर ‘टुवेल्थ फेल’ उनको करिअरको सबैभन्दा हिट फिल्म साबित भयो ।
यो फिल्ममा उनले आईपीएस मनोज कुमारको भूमिका निर्वाह गरेका थिए । यसमा उनको अभिनयको निकै प्रशंसा भयो । यसबाट उनले अवार्ड पनि जिते । हालै उनको फिल्म ‘द साबरमती रिपोर्ट’ रिलिज भएको थियो, जसको निकै प्रशंसा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले समेत फिल्मको प्रशंसा गरेका छन् ।
‘द साबरमती रिपोर्ट’ १५ नोभेम्बरमा रिलिज भएको थियो । यो फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित छ । ट्रेलर रिलिज भएसँगै फिल्म विवादमा परेको थियो । एक अन्तर्वार्तामा अभिनेता मेसीले यो फिल्मको क्रममा धम्की आएको समेत खुलासा गरेका थिए ।