उपनिर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी दिन पाइने, भोलि छानबिन

निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने बताएको छ । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध भएका उजुरी लिनका लागि आयोगले मंगलबार (२१ चैत) लाई तोकेको हो ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि आयोगले सोमबार उम्मेदवारी दर्ता गराइसकेको छ । निर्वाचन कार्यतालिका अनुसार ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारी फिर्ता लिन इच्छुकले चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने कार्यक्रम छ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलले उम्मेदवार चयन गरिसकेका छन्।

३ क्षेत्रमा ६९ को उम्मेदवारी
आगामी वैशाख १० मा प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाराका निर्वाचन कार्यालय प्रमुख सरोज चौधरीका अनुसार बारा–२ मा ३६ जनाको उम्मेदवारी परेको छ । सदरमुकाम कलैयास्थित मुख्य उपनिर्वाचन अधिकृतको कार्यालयमा सोमबार राजनीतिक दलका १२ र स्वतन्त्र २४ जनाको उम्मेदवारी परेको हो । तीमध्ये ५ जना महिला छन् ।

चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाकै उम्मेदवारी परेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ–१ मा उपनिर्वाचनमा सहभागी हुन नौ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवारी दिएका छन् । नेमकिपा, नेकपा समाजवादी, राप्रपालगायत दलले पनि उम्मेदवार उठाएका छन् ।