कार्तिक ७ गते काठमाडौँबाट बाराका हिँडेको सिग्देल सप्लायर्सको ना४ख ४५०५ नम्बरको ट्रक थानकोटमा रोकियो । सबै कानुनी प्रक्रिया पुरा गरेर छुटेको मालवाहक ट्रक रोकिएपछि व्यवसायीले सोधे ट्रक किन रोकियो ? प्रहरीले हप्काएको शैलीमा भन्यो माथिको आदेश छ ।
आफुले कुनै गल्ती नगरेकोले व्यवसायीले सोचे चेकजाँचका लागि रोकिएको ट्रक चेकजाँच सकिएपछि छुट्नेछ । तर, रोकिएको ट्रक भोलिपल्टसम्म न कुनै चेकजाँच भयो न त प्रहरीले लैजान अनुमति नै दियो । माथिको आदेश भन्दै रोक्नेले गाडी रोक्नुपर्ने कारण पनि नभन्ने र छुटाउन पनि नदिएपछि व्यवसायी गुनासो गर्न काठमाडौँ प्रहरी परिसर पुगे । दुईदिनसम्म कारण नभनि ट्रक बाटोमा रोकिएपछि व्यवसायीले थोरै आक्रोशित शैलीमा सोधे बिना कारण मेरो गाडी रोक्न मिल्छ ? प्रहरीले बल्ल भन्यो तपाईँको गाडीमा ५ केजी सुन भएको आशङ्का छ । फलाम बोकेर गएको गाडीमा सुनको आशङ्का छ भनेपछि व्यवसायी आत्तिएर सोधे त्यसो भए किन चेकजाँच नगरी ३ दिनसम्म यसै राख्नुभएको छ ? बल्ल प्रहरीले ट्रकको सबै सामान खाली गर्न लगायो । प्रहरीको आदेशमा व्यवसायीले मजदुर खोजेर १७ हजार केजी कवाडी सडकमै झारे । तर, ट्रकमा न प्रहरीले भनेझैँ सुन भेटियो । न त ३ दिनसम्म रोक्नुपर्ने कारण ।
कार्तिक २१ गते काठमाण्डौबाट कवाडी बोकेर हिँडेको सोही नम्बरको ट्रकलाई फेरि थानकोटमै रोकियो । व्यवसायीले कारण सोध्दा प्रहरीले भन्यो राजस्व छली गरेको शङ्का छ । आफूले आवश्यक सबै कागजात बोकेर निस्किएकाले व्यवसायी यसमा डराउनुपर्ने कारण थिएन । तर, व्यवसायी चाहान्थे दैनिक ज्याला र भत्ता दिनेगरि भाडामा लिएको ट्रकको चेकजाँच होस । तर, लामो समय बाटोमा रोकेर दुःख दिने काम नहोस । राज्यका अघि व्यवसायीले चाहेअनुसार हुने कुरै थिएन । प्रहरीले दुई दिन पछि मात्रै भन्यो तपाईको ट्रक राजस्व अनुसन्धान कार्यलय पठाउनुपर्छ । थानकोटमा रोकिएको ट्रक तेस्रो दिन ललितपुर फर्काइयो । तर, अनुसन्धानमा भने करछलीको कुनै प्रमाण भेटिएन ।
मंसिर ४ गते काठमाडौँबाट बाराको लागि निस्किएको शिवम सोनु ट्रेडसको ब प्र ०३ ००१ ख २०९१ नम्बरको ट्रक भोलिपल्ट बिहान गन्तव्यमा पुग्नुपर्ने थियो । सामान बोकेर ढिलामा ८ घण्टा लाग्ने बाटो पार गर्न ट्रकलाई ८ दिन लाग्यो । अन्नपूर्ण होटेलबाट पठाएको ट्रकलाई नागढुंगामा रोकियो । माथिको आदेश भन्दै रोकिएको ट्रक फर्काएर थानकोट वृत्त ल्याएपछि बिहान मात्रै छुट्यो । तर, गाडी किन रोकियो र कसको आदेशमा छोडियो व्यसायीलाई पत्तो छैन । थानकोट प्रहरीले एक रात राखेर छाडेको ट्रक भोलिपल्ट पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रोक्यो ।
अनुसन्धानका लागि भन्दै रोकेको ट्रकका विषयमा कार्यालय प्रमुख हरि शर्मा आफैले व्यवासायीलाई फोन गरेर पथलैया बोलाए । कारण नभनि समातिएको ट्रक छुटाउन तपाई नै आउनुपर्छ भनेपछि व्यवासयी जहाज चढेर त्यहाँ पुगे । तर, कर्मचारीले क्यालकुलेटरमा अङ्क देखाउँदै तर्साएर ट्रक ७ दिनसम्म रोके । गल्ती नगरेका व्यवसायीले क्यालकुलेटरको अङ्कमा चाख राखेनन् बरु बाटोमा ट्रक रोकेर बार्गेनिङ गरिएको भन्दै ७औ दिनमा टिभी अन्नपूर्णमा फोन गरे । व्यवसायीको गुनासोपछि हामीले राजस्व अनुसन्धान विभागमा फोन गर्दा कार्यलय प्रमुख शर्माले भनेका थिए फलाम भनेर ट्रकले तामा बोकेको देखियो । तर, फलाम भनेर तामा बोकेका कारण देखाउँदै ७ दिन रोकिएको ट्रक टिभी अन्नपूर्णको फोनपछि एकघण्टामै छुट्यो । ७ दिनसम्म आशंका भन्दै रोकिएको ट्रक केहिबेरमै छुट्नुले विभागले ट्रक रोकेर व्यवसायीसँग अनुचित लाभको अपेक्षा गरेको स्पष्ट देखिन्छ ।
यी त गएको महिना प्रहरी र राजस्वका कर्मचारीले व्यवसायीलाई अनेक बाहना बनाएर असुली चलाउने गरेका केहि प्रतिनिधि घटना हुन । काठमाण्डौबाट दैनिक कवाडी बोकेर निस्कने ५ दर्जन गाडीमध्ये अधिकांशलाई प्रहरी र राजस्व विभागका कर्मचारीले एउटा गिरोहको इसारामा यसरी नै दिनहुँजसो दुःख दिने गरेको छ । यसको योजना भने ललितपुर महानगरपालिकाबाट कवाडी निकासी करको ठेक्का लिएको इन्द्रेणी हार्डवेयरका सञ्चालक रोशन चौधरीले बनाउँछन । उनै चौधरीले बनाउने योजनामा यहाँको प्रहरी र राजस्व विभागका कर्मचारीेले व्यवसायीलाई सास्ती दिने गरेका छन ।
सडकमा युवाहरुको समूह बनाएर अवैध असुली चलाउने र यसको बिरोध गर्नेहरु यसको निशानामा पर्ने व्यवासयीको भनाई छ । त्यसो त चौधरीले काठमाण्डौका व्यवसायी धम्काउनकै लागि मासिक ११ लाख दिनेगरि बेरोजगार युवाहरुको समूह बनाएका छन । तीनै युवाहरुले सामान बोकेर निस्केको ट्रक रोकेर अख्तियार,राजस्व अनुसन्धान कार्यालय र प्रहरीको नाम लिएर कारबाहीको धम्की दिने गरेका छन् । जसका कारण आज दुई दर्जन बढि व्यवासायी या त खुलेआमा भईरहेको अवैध असुली तिर्ने अथवा व्यवसाय बन्द गरेर हिड्नुपर्ने अवस्थामा छन ।
काठमाडौँ परिसर अन्तर्गतका थानकोट, कालीमाटी र नागढुंगा तथा बाराको पथलैया राजस्व अनुसन्धान विभागमा देखिएका दृश्यले यसको पुष्टि गरेको छ । तर, प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने राजधानी काठमाडौँमै प्रहरीकै संरक्षणमा निकासी करको नाममा व्यवसायीमाथि खुलेआम गुण्डागर्दी र असुली चलाइएको आरोपको खण्डन गरेका छन् ।
ठेकेदारको आवरणमा चौधरीको असुली धन्दा, प्रहरीको मौनताले व्यवसायीलाई सास्ती